काठमाडौं। नेपालमा राजतन्त्र पुनरस्थापनाको एजेन्डा बेला बेला उठिरहेको हुन्छ। कमल थापादेखि राजेन्द्र लिङदेन हुँदै यतिखेर दुर्गा प्रसाईसम्म यो एजेण्डा आईपुगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दलका रुपमा अगाडि बढेको छ ।राप्रपाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने बताएको छ। पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने घोषणा गर्नुभएको हो।
त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविरोधीको साथ लिने उहाँको दाबी छ। सांसद राणाले संघीय लोकतान्त्रिक गणतन्त्र सडकबाटै ढाल्ने पनि चेतावनी दिनुभएको छ। राणा, पञ्चायत, प्रजातन्त्र पनि सडकबाटै ढलेको हो। गणतन्त्र पनि सडकबाटै ढाल्छौं । सदन, सडक र जनमतसंग्रह जनसुकै तरिकाले सरकार र व्यवस्था ढाल्न सकिन्छ। राणाको दाबी छ।
राप्रपाले यसो बताईरहदा नेकपा (माओवादी केन्द्र)का नेता रामदीप आचार्यले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजतन्त्र फर्काउने मनसाय उहिलेदेखिकै भएकाले नयाँ कुरा नभएको टिप्पणी गर्नुहुन्छ। राजा फर्काउने कुरा दिवास्वप्न मात्र भएको उहाँको भनाई छ।
दशैंको टिकाको दिन राप्रपा नेता रविन्द्र मिश्रले शितल निवासमाथि कटाक्ष गर्दै बोल्नु भएको थियो। शितलनिवास पश्चिमतिर भएकाले अस्ताउदै गरेको र निर्मल निवास पूर्वतिर भएकाले उदाउँदै गरेको उहाँको तर्क थियो ।
मिश्रको यो भनाईप्रति आपत्ति जनाउदै (माओवादी केन्द्र) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार रामदीप आचार्यले राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र सफल पत्रकार र असफल राजनीतिज्ञ भएको बताउनुहुन्छ ।मिश्रले त आफ्नै पार्टी बनाउनुभएको थियो । विचारभन्दा माथि देश भन्नुभएको थियो । अहिले उहाँ राप्रपामा शरणार्थी हो । त्यसैले उहाँका बारेमा थप टिप्पणी गर्नुको कुनै अर्थ छैन । आचार्यको तर्क छ ।
यता नेकपा (एमाले)का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्नुभएको छ। सांसद थापाले शीतलनिवास र निर्मलनिवासको कुनै तुलना हुननसक्ने बताउनुहुन्छ।उहाँले राजावादीहरुलाई प्रतिगामी स्यालहरुको संज्ञा दिनुभएको छ।
नेपालमा दलहरूको कुशासन व्याप्त छ। संस्थाहरूको विकास हुन नसक्दा लोकतन्त्रको हदैसम्मको दुरूपयोग भइरहेको छ। राजावादीहरू वंशानुगत हिसाबले ज्ञानेन्द्रलाई स्वीकार गर्नुपर्ने गरी अघि बढेका छन्। नेपालमा प्रस्तावित राजा सबै नेपालीका लागि स्वीकार्य हुने अवस्था पनि छैन। तर दलहरू दिनानुदिन जनताका आलोचनाका पात्र बन्दै गएको अवस्थामा सर्वसाधारण राजतन्त्रको पक्षमा खडा हुने अवस्था नआउला भन्न पनि सकिदैन ।