काठमाडौं।आज नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी अर्थात दशैं, निधारमा रातो टिका र जमरा लगाउँदै मान्यजनहरुबाट आशिर्वाद लिएर हर्षोउल्लासका साथ मनाईएको छ। घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी दशैघर अथवा पुजाकोठामा आराधना गरिएकी दुर्गा देवीलाई आजकै दिन विधाई अर्थात विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूलप्रसादसँगै आशिर्वाद ग्रहण गरेर दशैं मनाइएको हो।
आज बिहान नौ रात १० दिनसम्म पूजा गरिएकी देवी विसर्जनका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको १० बजेर ३७ बजेको उत्तम साईतमा देवि विर्सजन गरेपछी ११ बजेर २ मिनेटको उत्तम साईतदेखी दिनैभर टिका र जमरा लगाएर दशै मनाइएको हो।आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ।
किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए।सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। सोही दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गर्छन्। शास्त्रिय मान्यताअनुसार पनि आज टिका ग्रहण गर्नुपुर्व अनिवार्य नौ रात १० दिनसम्म पूजा आरधना गरिएकी दुर्गाको विधिपुर्वक विसर्जन गर्नुपर्ने नियम रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णयक समितिका पूर्वाध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउनु हुन्छ।
देवि विसर्जन गर्दा विधिपूर्वक गर्नुपर्ने धर्मशास्त्रविदहरुको भनाई छ यसका लागी २ प्रकारका देवीको पुजन गर्नुपर्ने शास्त्रीय मान्यता छ। जसमा दाँयापट्टी जया देवी र वाँयाँतर्फ विजयादेवीको पुजन गर्नुपर्छ भने नवग्रह र आफ्ना कुलदेवताको पनि विधीपूर्वक पुजा गर्नुपर्ने मान्यता छ।यसरी विधिपुर्वक देवि विसर्जन गरेपछी बल्ल विजयादशमीको टिकाको कार्य प्रारम्भ गर्नुपर्ने शास्त्रहरुमा उल्लेख छ। जसका लागी राष्ट्रप्रमुखले शुभ साईतमै टिका लगाउनुपर्ने मान्यता छ भने अन्य सर्वसाधरणले भने साइत शुरु भएपछि दिनभर लगाउन मिल्ने प्रा.डा.गौतमले बताउनुहुन्छ।
यसरी टिका लगाउँदै गर्दा र अग्रज तथा मान्यजनहरुले लगाईदिदै गर्दा पुरुष र महिलाका लागी छुट्टाछुट्टै मन्त्रोच्चारण गर्नुपर्ने विधिविधान छ। यसरी विधीपुर्वक टिका जमरा र आशिर्वाद लिदाँ आयु र आरोग्य वृद्धि हुने, रोग व्याधी नष्ट हुने सुख शान्ती र समृद्धी प्राप्त हुने धर्मशास्त्रविदहरुको भनाई छ।
आजबाट सुरु भएको दशैको आउँदो कोजाग्रत पूर्णीमासम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ। यसरी शास्त्रिय मान्यताअनुसार मनाईने नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैंअर्थात विजयादशमीअन्तर्गत गरिएको नवदुर्गा भवानीको पुजा आराधानाले नेपाल र सम्पुर्ण नेपालीहरुमा सुखशान्ति,समृद्धी आरोग्य र दिर्घायुको आाशिर्वाद मिलोस्। सम्पुर्ण नेपालीजनहरुमा दशैंको शुभकामना।।