काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्नुहुने भएको छ।
फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो ।
पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो ।यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।
सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् ।
योपटक सम्मेलनमा पृथ्वी र जीवनको रक्षा, डिजिटल संसारमा विश्वास र सुरक्षा, असमानताको सम्बोधन तथा एसडीजीलाई गति प्रदान गर्ने र सुरक्षित विश्व निर्माण लगायत विषयमा गहन छलफल गरिनेछ ।
स्रोतका अनुसार राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि त्यहीँबाट जर्मनी जानेछन्। जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लाग्नु भएको हो ।