काठमाडौं।दशैँ, तिहार, छठजस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ। गत वैशाखयता खाद्यान्नमा हप्तैपच्छिे र तरकारीमा दैनिक मूल्यवृद्धि भइरहेको छ।चर्को मूल्यवृद्धि भएसँगै सर्वसाधारणलाई जीविकोपार्जनमा समस्या हुन थालेको छ।
विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरू महँगीको मारमा परेका छन्।उनीहरूसँगै आर्थिक मन्दीको चपेटामा परेका जनता खाद्यान्न तथा तरकारीमा हुने दैनिक मूल्यवृद्धिले हैरान बनेका छन्। सरकारकै मिलोमतोमा बजारमा दैनिक उपभोगीय वस्तुमा मूल्यवृद्धि भएको उपभोक्तावादी संस्थाहरूले आरोप लगाएका छन्।
ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरू दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। नेपाली उपभोक्ता महासंघका अध्यक्ष चन्द्र साउदका अनुसार सरकारले नै विचौलियालाई प्रोत्साहन गरेको पाइएको छ।
मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा सरकारले चासो दिएको छैन। महँगी यसरी बढिरहे पनि सरकार मौन छ। बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन। दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन। बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न सकेको छैन। समस्या सरकारमै छ ।
नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्यवृद्धि भइरहेको छ। भदौ महिनाको तुलनामा असोजमा सबै प्रकारको चालम प्रतिबेहोरा २५० रुपैयाँसम्म बजार भाउ बढेको छ। यस्तै, दाल, गेडागुडीलगायत समानमा समेत प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म बढेको छ।
पछिल्लो समय खाद्यान्नका सबै परिकारमा समेत ३० प्रतिशतभन्दा महँगी बढेको छ। वैशाखयता खाद्यान्नमा पनि ४० प्रतिशत मूल्यवृद्धि भएको विभिन्न मन्त्रालयको अध्ययनमा औँल्याइएको छ।
सरकारी तथ्यांकलाई नै हेर्दा जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको देखिन्छ। सरकारी संयन्त्रको कमजोरीका कारण बिचौलियाहरू मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको उपभोक्ताको आरोप छ ।