काठमाडौं। कोशी प्रदेशपछि बागमती प्रदेश सरकार पनि ढाल्न चलखेल सुरु भएको छ। बाग्मती सरकार ढलाउन कांग्रेसकै नेताहरूले सक्रियता बढाएका छन्। वर्तमान माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न कांग्रेसको शेखर/गगन पक्षका नेताहरू सक्रिय भएका हुन्।
महामन्त्री गगन थापाले बागमती प्रदेश सरकार ढाल्ने प्रस्ताव लिएर आज बिहान मात्रै पार्टीका चारजना सांसद आफूकहाँ आएको जानकारी दिनुभयो। प्रेस युनियन काठमाडौंको आज आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘आज बिहान बागमती प्रदेशका चार सांसद आउनुभएको थियो। उहाँहरूले बागमती सरकारमा हाम्रा ३८ सांसद छन्। हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं। हाम्रो(शेखर पक्ष)केही दिनभित्र १२÷१३ जना पुगेका छन्।सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो।’
सांसदहरूको आग्रहपछि सरकारको विषय आफूलाई थाहा नभएको भन्दै सभापति र वरिष्ठ नेतालाई भन्न सुझाएको बताउनुभयो। कोशीमा कांग्रेस नेता शेखर कोइराला निकट केदार कार्की पार्टीको निर्णयविपरीत एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो ।