काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताउनु भएको छ।
प्रेस युनियनले आज काठमाडौंमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भन्न्ुभयो, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’
चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको भनाइ छ ।
‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ,,’ थापाले भन्नुभयो, ‘त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक रुपले गलत हुन्छ, त्यो कुराले कुनै पनि रणनीतिक बनाएर त्यसको सेवा गर्न पाइँदैन ।’
अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको थापाको भनाई छ। उहाँले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताउनुभयो।