काठमाडौं । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई आफ्नो पार्टीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी दिएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईँले यस्तो चेतावनी दिनुभएको हो। उहाँले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराउनुभयो ।
प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरू निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद् चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र अनुगमन लगायतका काम हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेशको सुशासन र विकासलाई तीव्रता दिनुपर्ने, स्थायित्व दिन पनि लाग्नुपर्ने बताउँदै उनले प्रदेशमा देखिएको अस्थिरताको अन्त्य गर्नका लागि गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिनुभयो । विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षीमा बस्ने उहाँको भनाइ थियो ।