काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताउनुभएको छ ।
पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उहाँले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राख्नुभएको हो ।
‘प्रदेशसभामा भएका दुखान्त अभ्यासले, बिर्सनलायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुसिसात हुँदै गएको छ । प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको छ’ बुधबार कोशी प्रदेशसभा बैठकमा उहाँले भन्नुभयो, ‘प्रदेशसभा विघटन भएर, मध्यावधिमा गएर फ्रेस जनमत ल्याएर यसलाई पुनर्जीवित गर्नुपर्नेछ ।’
मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले यस्तै विषयमा पटक पटक बोल्नुपर्दा अप्ठेरो लागेको बताउनुभयो ।
कोशी प्रदेश सभाले प्रचलित नैतिक मूल्य मान्यता पटक पटक उल्लंघन गर्दै आएको पनि राईले बताउनुभयो ।
एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले अध्यादेशबाट बजेट ल्याउनु, प्रदेशको नामकरण गर्दा संशोधन दर्ता गर्ने समय पनि नदिई हतारमा पारित गर्नु यसको उदाहरण भएको बताउनुभयो ।