काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफल मन्त्रिपरिषद् पुनर्गठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा केद्रित हुने बताइएको छ ।
यसअघि दुई अध्यक्षबीच भएको भेटवार्तामा छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी भएको थियो ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै, भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोजभित्र एकतालाई पूर्णता दिने निर्णय गरेको थियो ।
तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटिले पूर्णता पाउन बाँकी रहेको छ ।