Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री, पार्टीबाट विद्रोह गर्दै कांग्रेसका कार्की मुख्यमन्त्री बने, सत्ता गठबन्धन र प्रतिपक्षीको आ आफ्नै दावी(खासखबर)

कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री, पार्टीबाट विद्रोह गर्दै कांग्रेसका कार्की मुख्यमन्त्री बने, सत्ता गठबन्धन र प्रतिपक्षीको आ आफ्नै दावी(खासखबर)

  • शनिवार, आश्विन २७ २०८०

  • 842
    SHARES

  • कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री, पार्टीबाट विद्रोह गर्दै कांग्रेसका कार्की मुख्यमन्त्री बने, सत्ता गठबन्धन र प्रतिपक्षीको आ आफ्नै दावी(खासखबर)

    काठमाडौं। कोशी प्रदेशमा सत्ताको किचलोले ९ महिनामा ५ मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा हालसम्म ३ जना मुख्यमन्त्री बनिसकेका छन् । पहिलो कार्यकालमा राजनीतिक उतारचढावबीच ३ जनाले सरकारको नेतृत्व सम्हाले । केन्द्रीय अस्थिरताका कारण मात्रै तत्कालीन प्रदेश १ मा असर परेको थियो ।

    दोस्रो कार्यकालमा अंकगणितका कारण शुरूदेखि नै अस्थिर बनिरहेको छ । केन्द्रीय सत्ता गठबन्धनमा भएको उथलपुथलले कोशी प्रदेशमा झन् संकट निम्तिएको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादी केन्द्रले सत्ता गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमा राजनीतिक मात्रै नभई संवैधानिक संकटको समेत सामना गर्नु परेको छ ।

    दलीय शक्ति हत्याउन पटक–पटक संविधानविरोधी र अराजनीतिक हर्कत गर्न दुवै पक्ष पछि नपर्दा अदालतले बाटो देखाउनुपरेको थियो । सहजै विश्वासको मत पाउने अवस्था नभए कोशी मध्यावधिको डिलमा समेत पुगेको छ ।

    सविधानतः अन्तिम सरकारका रुपमा केदार कार्की मुख्यमन्त्री बन्नुभएको छ । प्रदेश प्रमुख कार्यालयमा भएको सनाखतका क्रममा कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि उहाँ आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

    नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया दिनुभएको छ । यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उहाँको भनाइ छ ।

    कुनै पार्टी समर्थनमा नभई संविधानको धारा १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभएको छ ।

    कांग्रेसका कार्की मुख्यमन्त्री भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको दाबी गर्नुभएको छ । प्रचण्डले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।

    ‘आज बिहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’ प्रचण्डको भनाई छ ।

    यता, मुख्यमन्त्री कार्कीलाई समर्थन गरेको एमालेले सत्ता गठबन्धनका नेताहरू पुनः दाउपेचको राजनीतिमा लागेको बताएको छ । एमालेका महासचिव शंकर पोखरेलले कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको आरोप लगाउनुभएको छ ।

    कोशीमा भएको कुरालाई गठबन्धनले अवैधानिक मानेको खण्डमा अहिलेको सरकार पनि अवैधानिक हुने उहाँको जिकिर छ। मुख्यमन्त्री कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने पोखरेलको भनाई छ ।

    कोशी प्रदेश मुख्यमन्त्रीको बिषयले नेपाली कांग्रेसभित्र डा. शेखर कोईराला पार्टीभित्र एकलौटी हिसाबले चलेको आरोप पनि नेताहरुले लगाएका छन् । कांग्रेस सांसद कान्छाराम तामाङले कोशी प्रदेशमा पार्टीको निर्णयविरुद्ध चलेकोमा नेता कोइरालाले एक महिनाभित्रै त्यसको नतिजा भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

    कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्की पार्टीबाट विद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्री बनेपछि कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्वव थापाले आजै राजीनामा दिनुभएको छ । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भोलि आइतबार लिने कार्यक्रम छ । विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आउनु भएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बन्नुभएको हो ।

    ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक सांसद छन्।

    आज मात्रै मुख्यमन्त्री नियुक्त कार्कीले संविधानअनुसार एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिँदा ४७ संख्या जुटाउन अहिले हस्ताक्षर गरेका कांग्रेसका ८ र एमालेका ३९ सांसदले साथ देलान् या राजनीति अर्कै बाटो दौडिएला? त्यो भने पर्खिनुपर्नेछ ।


    शनिवार, आश्विन २७ २०८००८:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij