काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई ३२ सीटेको पछि हिँड्यो भन्ने एमाले कोशीमा ८ सिटेको पछी लागेको टिप्पणी गर्नुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी ओलीले केही दिन पहिले कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गर्नुभएको अभिव्यक्तिप्रति कटाक्ष गर्नु भएको हो।
महामन्त्री शर्माले भन्नुभयो,‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर, हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ।पुस १० गते उहाँले बनाउनुभयो।आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’
उहाँले सबै मिलेर यो देश बनाउने अभियानमा लाग्नुपर्ने भन्दै एउटाले अर्कोलाई आलोचना गर्न छाड्नपर्ने बताउनु भयो।उहाँले नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ भएर जान सुझाव दिनु भयो। मंसिर ४ मा एमालेले उदार भावना देखाएकै कारणले आफू संसदमा आएको समेत बताउनु भयो।