काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले गठबन्धन सरकारले देशको गरेको अपेक्षा अनुसार काम गर्न नसकेको र अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सांसद गौतमले भन्नुभयो, ‘सरकारमा काम गर्ने सोच नै छैन । खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएर मात्र के हुन्छ ? अहिले मुलुकमा हामी एकदमै अप्ठेरोमा अवस्थामा पुगिरहेका छौँ । सुकुम्वासी समस्या समाधानको खुब ठुल–ठुला गफ गर्यौँ । तिमीहरू कोही पनि सुकुम्वासी रहँदैनौँ, तिमीहरू फेरी सुकुम्वासी रहे हामी भोट माग्न आउँदैनौँ भन्यौँ । तर कहाँ छ सुकुम्वासी समस्या समाधान आयोग, कहाँ के काम गरिरहेको छ ? स्थानीय तहलाई आँकडा संकलनको काम दिएँ भनेर उम्किन पाइन्छ ? सुकुम्वासीहरूको बारेमा यो सरकार गम्भीर हुनुपर्दैन ?’
उहाँले अगाडी भन्नुभयो, ‘सुकुम्वासीको काम पनि नगर्ने, विकास पनि नगर्ने, बजार नियन्त्रण पनि नगर्ने, राष्ट्रिय गौरवका आयोजना पनि ध्वस्त पार्ने, खाली यो सत्ताको लुछाचुँडीमा भुल्ने हो भने, यो गठबन्धन सरकार हामीले बनाएका हौँ । त्यसमा मेरो र हाम्रो दलको पनि मत छ, तर यही गति र यही मतिले चल्ने हो भने यसले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताहरूको अगाडि धेरै विकल्पहरू छैनन् । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरौँ समयमै । संविधान संशोधन गरेर निर्वाचन प्रणालीको बारेमा सोचौँ । संघीयतालाई कसरी व्यवस्थित गर्ने हो त्यो कुरामा ध्यान दिऔँ । खाली खर्च बढाएर मात्र हुँदैन ।’
उहाँले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरूलाई बेलैमा बिचार नगर्ने हो भने पछि पश्चात्तापको बाटो बाहेक अरू केही नरहने बताउनुभयो। नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकोले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नका लागि जोड दिनुभएको छ। यदि यसो नगर्ने हो सबै परिवर्तन, क्रान्ति खेर जाने उल्लेख गर्नुभयो ।