काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाएको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताउनु भएको हो।
मन्त्री बस्नेतले भन्नुभयो,‘वीरअस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ। हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौं कर्मचारीहरुलाई मैले त ९५ करोड भनेको थिए। अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैंया फाजिलमा खर्च भएको छ। सम्माननीय प्रधानमन्त्री ज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो। सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो।