काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनलाई कोसी प्रदेश सरकार गठनका लागि सघाइदिन आग्रह गर्नु भएको छ। आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले कोसी सरकार गठनमा सहकार्य गर्न लिङ्देनसँग आग्रह गर्नु भएको हो।
सर्वोच्च अदालतले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। कार्कीले शनिबार विश्वासको मत पाउने सम्भावना नभएपछी पदबाट राजीनामा दिनु भएको थियो । त्यसपछी मुख्यमन्त्री विहिन बनेको कोसी प्रदेश मध्यावधि नजिक रहेको छ।
जसकारण प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको छ। प्रदेशसभामा रहेका जुनसुकै सदस्यले बहुमत(४७) सदस्य पु¥याएर मुख्यमन्त्रीको दाबी गर्न पेस गर्न सक्नेछन्। प्रदेश प्रमुख खापुङले असोज २६ गते ५ बजेभित्रमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।
सोही मिति नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष लिङ्देनसँग सहकार्यको प्रस्ताव गर्नुभएको हो।कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। कोसीमा एमालेका उपसभामुखबाहेक ३९, गठबन्धन दल नेपाली कांग्रेससँग २९,नेकपा (माओवादी) केन्द्रसँग १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६,नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्।