काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।
स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गरेका छन् । इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुको जोड छ ।
सरकारले इजरायलमा नेपालीहरु मारिने गरी भएको घटनाबारे छलफल गर्न सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा सरकारले मन्त्रिपरिषदबाट भएका निर्णय र सरकारी प्रयासहरुबारे जानकारी गराएका थिए ।
बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
माओवादीका सचेतक पाण्डले सर्वदलीय बैठकले १० जना नेपालीको निधन हुने गरी भएको इजरायलका घटनामा सबै देश र पार्टी एकै ठाउँमा छ छन् भन्ने सन्देश दिएको बताउनुभयो ।