काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्ने भएको छ ।
आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरू भएको छ । बन्द सत्र सुरू हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय माग्नुभएको थियो ।
‘पोखरेलले नेताहरूसँगको छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिनुभएको छ । इन्चार्ज विश्वकर्माले ल्याउने खाकामा सहमति हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने समझदारी नेताहरूबीच बनेको छ ।
एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट पनि सहमतिका अन्तिमसम्म प्रयत्न गरिने बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरू दबाबमा परेका छन् ।
अध्यक्षमा अहिलेका उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्य कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले आकांक्षा राखेका छन् ।