काठमाडौं। प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको ९ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अराजकतातिर धकेलेको आरोप मात्र लागेको छैन, सरकार परिवर्तन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अराजक बनेको भन्दै अब विकल्प खोज्नुपर्ने बेला आएको कांग्रेस नेता शेखर कोइरालाले दाबी गर्नुभएको छ । पछिल्लो समय मुलुकमा विभिन्न सामाजिक विद्वेष देखिनुमा प्रधानमन्त्री प्रचण्डबाट बेलाबेला व्यक्त भइरहेका जातजातिबीच द्वन्द्व हुने खाले भाषण रहेको उहाँले टिप्पणी गर्नुभएको हो ।
आज एक कार्यक्रममा बोल्दै कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्री प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको कटाक्ष गर्नुभयो । देशमा फैलिएको अराजकता रोक्ने हैसियत कांग्रेसमा मात्र रहेकाले अब सरकारको नेतृत्व लिनैपर्ने अवस्था आएको कोइरालाले ठोकुवा गर्नुभयो ।
सत्तामा रहेकै पार्टीका नेता कोईरालाले यस्तो बताइरहँदा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजन गठबन्धनको नेतृत्व सहमति बमोजिम मात्र बदलिने दाबी गर्नुहुन्छ । कांग्रेस नेता कोइरालाको व्यक्तिगत विचारले आकार ग्रहण गर्ने स्थिति नबन्ने सांसद दाहालको तर्क छ । उहाँ अहिले प्रधानमन्त्रीको राजिनामाबारे प्रसंग उठाउने बेला नभएकोे टिप्पणी गर्नुहुन्छ ।
सत्तारुढ गठबन्धनकै दलका नेताहरुबाट यस्ता प्रतिक्रिया आइरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। नेपालले प्रधानमन्त्री प्रचण्डसँग सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताउनुभयो । गठबन्धन भित्र पनि फरक फरक धारणा छन् यसबारे पनि कुरा उठेको नेपालको भनाई छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बेला बेला दिने अभिव्यक्ति आफैलाई भारी हुदै आएका घटना पनि धेरै छन्।प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति प्रति सत्तारुढ दलकै कांग्रेस नेता कोईरालाको यस्तो खालको कडा टिप्पणी आएको हो ।
यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ । सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत रहे पनि आन्तरिक कारणले यस्तो अभिव्यक्ति दिन बाध्य पारिएको हुन सक्ने एकथरीको बुझाई छ ।