काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच नेपाललाई नयाँ हवाइ प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा छलफल भएको छ ।
मन्त्री भट्टराईको सचिवालयका अनुसार भैरहवा नाकाबाट उडान गर्नुका साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउनेबारे आज छलफल भएको हो ।
कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरबीचको उडान सुरु गर्ने सम्बन्धमा समेत छलफल भएको छ । पर्यटन मन्त्रालयले १ कार्तिकबाट भारतमा उडान खोल्ने प्रस्ताव गरिसकेको छ । सचिवालयले जनाएअनुसार पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको छ ।
मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।