काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाटै संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको भन्दै त्यस्तो सोच भएकालाई पराजित गर्न जरुरी रहेको बताउनु भएको हो ।
उहाँले सिंहदरबारको अधिकार घरगाउँमा पु¥याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको दाबी गर्दै त्यसमाथि प्रश्न उठाउने प्रयत्न भइरहेको जिकिर गर्नुभयो ।
राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो ।
संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएकोले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमानदारीका साथ लागु गरिएको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको बताउनुभयो।
उनले जनतामा सकारात्मक परिवर्तनको महसुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने दाबी पटकपटक दोहोराउनु भयो ।