काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले देशमा जताततै अराजकता बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारको बाटो खालि गरिदिन आग्रह गर्नुभएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोईरालाले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री समक्ष यस्तो आग्रह गर्नु भएको हो।
उहाँले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके तत्काल बाटो खालि गरिदिनुपर्नेमा जोड दिनुभयो।
उहाँले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गर्नुभयो।
उहाँले प्रधानमन्त्रीबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको बताउनुभयो। नेता कोईरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताउनु भयो।