Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ग्यास सकिँदा चिउरा र पानी, काइली भाउजुको भट्टीको एकगिलास...

ग्यास सकिँदा चिउरा र पानी, काइली भाउजुको भट्टीको एकगिलास...

  • आइतवार, आश्विन १४ २०८०

  • 3.2K
    SHARES

  • ग्यास सकिँदा चिउरा र पानी, काइली भाउजुको भट्टीको एकगिलास...

    खेम बम
    चकमन्न रात । चिउरा र पानीको खाना । एक्कासी ग्यास सकियो । कोठा भर्खरै सरेको । पल्लो छिमेकी कोठासँग राम्रोसँग बोलचाल भइसकेको छैन । सानो बाबु आमाको बुबु खाएर सुतिसक्यो । आमा त्यही चिउरा खाएर सुतिन् । दिनभरीको मजदूरी, कहिले काम पाइन्छ, कहिले रित्तै हात घर फर्किनुपर्ने बाध्यता । साउजीको माल आयो भने मात्रै अनलोड गर्न पाइन्छ । माल आएन भने रित्तै घर फर्किनुपर्छ । दिनदेहारी गरेर खाने मजदूरको दैनिकी सधैँ तनावमा नै बित्ने गर्दछ । चोकमा मकै बेचेर चलेको गुजारा हराभरा शहर बनाउने सपना बुनेका मेयर सापका कारण सकियो । भर्खरै जन्मिएको छोरालाई डेरीबाट दुध लिएर खुवाउनुपर्ने, आमाको त दुधै सुकेछ । विचरी पोषिलो खान पाए पो !

    ग्यास किन्नलाई करिब १० दिनको रकम जम्मा पार्नुपर्छ । सुत्केरी बनेकी उनी काममा जान सक्दैनन् । केही दिन एक्लै काम गर्नुछ । छोरो दुई महिना पुगेपछि त पिठ्यूमा बोकेर घर बनाउने मसला तयार पार्नु छँदैछ । अघिल्लो साँझ खाना पकाउँदै गर्दा सकिएको ग्यास दोस्रो दिन त मैले जम्मा पारेको पैसाले नपुग्ने भइसकेछ । को सँग सापटी लिने ? कसले दिन्छ होला सापटी ? एकाबिहानै छोरालाई दुध लिएर तताउनु छ । मेरो समस्या सुन्दा हाँस्ने मानिस मात्रै भेट्छुँ । जहिले दुईचार सयले सताउने कस्तो जागिर मेरो । तरकारी किनेर नखाएको त महिनौ बित्यो । मासु खाने मन लागे कहिलेकाहीँ ब्रोइलर कुखुराका टाउको खुट्टा स्वादिला लाग्छन् ।

    दशैँ आयो, घरघरमा बहार छाउन लागिसकेको छ । म एकथान ग्यास कसरी भर्ने भन्ने चिन्तामा छुँ । भर्खरै जन्मेको छोरो, गाउँमा गएर बाबुआमालाई मुख देखाउनु छ, पीडा लुकाएर गाउँकालाई बोलाएर छैठ खेलाउनु छ, भात चखाउनु छ । कसरी पो घर जाने ? यी र यस्तै समस्याले मलाई पिरोल्छ । केही समयका लागि भएपनि यसको बुटी, काइली भाउजुको भट्टीको एक गिलास मात्रै हो । एक गिलासले एकछिनलाई भएपनि सबै चिन्तालाई हौसलामा परिणत गरिदिन्छ । छोराको मुख हेरेर हसाउन सिकाउँछ । मलाई पो एक गिलासले हौसायो तर मेरी उनी कहिल्यै हौसिइनन् । उनी जहिले पनि तनावमा हुन्छिन् ।

    अब त लाग्न थाल्यो, विदेश जाऔँ । कोरोनाको समयमा पनि मेरो देशले दुईछाक खान दिन सकेन । मनकारी व्यक्तिहरुका कारण ज्यान बाँचेको थियो । उल्टै आज मैले ग्यास किन्न ठिक्क पारेको पैसामा दुईसय थप्नुपर्ने भयो । यस्तै–यस्तै होला है समाजवाद भनेको, साम्यवाद भनेको ? अब त, जनताहरु नेता भए, गरिबका छोरा सिंहदरबार पुगे, दुःख बुझेका मान्छे प्रतिनिधि भए, सुख आउला नी ? गरिबलाई राज्यले हेर्ला नी ? यो त मेरो फगत सोच मात्रै रहेछ । समाजवाद आयो भन्छन्, गाउँमा दाईभाईको पानी बाराबार छ, हाम्रो सम्पत्ति हुँदैन भन्ने भाषण आज कता बिलाए । सबैका आलिसान घरमात्रै देख्छुँ । सबैका पजेरो मात्रै देख्छुँ ।

    विदेश जाने भनेको शुरुमै दुईलाख लाग्छ भन्छन् । कहाँबाट ल्याउने ? दुईलाख भए गाउँमा गएर कुखुरा पाल्थे, बंगुर पाल्थे । यी र यस्तै दिनचर्या बितिरहेको छ । सधैँ सोचमा डुब्छुँ, तनाव आउँछ, झ्वाट्ट काइली भाउजु भट्टी सम्झिन्छुँ ... ।

    (कोठा भाडामा बस्ने मजदूरको दैनिकीलाई लिएर काल्पनिक सोचमा आधारित लेख)

     


    आइतवार, आश्विन १४ २०८००५:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij