Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेम्वाङ भन्छन्, ‘ मन्त्रिपरिषद पुनर्गठन नहुने चर्चा छ’

नेम्वाङ भन्छन्, ‘ मन्त्रिपरिषद पुनर्गठन नहुने चर्चा छ’

  • बिहिवार, आश्विन २२ २०७७

  • 908
    SHARES

  • नेम्वाङ भन्छन्, ‘ मन्त्रिपरिषद पुनर्गठन नहुने चर्चा छ’

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद पुनर्गठन तत्कालका लागि टरेको छ । यसअघि दसैँ अगाडि नै मन्त्रिपरिषद पुनर्गठनको तयारी भए पनि अब त्यो सम्भावना लगभग टरेको नेताहरुले बताएका छन् । नेकपाका एक प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले दसैँ अगाडि नै मन्त्रिपरिषद पुनर्गठनको सम्भावना अब नरहेको बताउनुभयो ।

    अहिले खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तर पुनर्गठन भने तिहारपछि मात्रै गर्ने सहमति बालुवाटारमा जुटेको जानकारी आफूले पाएको नेता नेम्वाङले बताउनुभयो ।

    नेकपाको स्थायी कमिटि बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निर्णय गरेको थियो । त्यलगत्तै बसेको पार्टीको सचिवालय बैठकमा पनि मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको थियो ।

    उक्त बैठकका निर्णयबारे नेपाली रेडियो नेटवर्कलाई जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले दसैँ अगाडि नै पुनर्गठनको सम्भावना धेरै रहेको बताउनुभएको थियो । तर पछिल्लो पटक असोज २० गते बसेको पार्टीको सचिवालय बैठकमा मन्त्रिपरिषद हेरफेरबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    दुई अध्यक्षको अधिकार बाँडफाँड स्पष्ट पार्ने र तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्ने मुख्य बुँदामा सहमति जुटाएर नेकपा फुटको संघारबाट जोगिएको थियो । तर कुन मन्त्रीलाई हटाउने र कसलाई नियुक्त गर्र्ने भन्नेमा सहमति नजुटेपछि पार्टी फेरि संकटतिर गइरहेको चर्चा भइरहेको छ ।

    यसका साथै विभिन्न नियुक्तिहरुमा ओलीले एकलौटी गर्न थालेको भन्दै प्रचण्ड समूहमा फेरि असन्तुष्टि चुलिएको छ । यसैबीच मन्त्रीपरिषद् पुनर्गठनको बारेमा नेताहरु अल्मलिरहेका बेला नेकपा भित्र अहिले मन्त्रीपरिषद् पनर्गठनको आवश्यकता नभएको आवाज पनि उठ्न थालेको छ । स्थायीत्वको नारा दिएर बनेको सरकारलाई पुनर्गठन गर्नु जनताप्रतिको बेइमानी हुने नेकपाकै नेताहरुले बताउन थालेका हुन् ।


    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले अहिले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीप्रति असहमती प्रकट गर्नुभयो । उहाँले अहिले मन्त्रीपरिषद् पुनर्गठन पार्टीले दिएको स्थायीत्वको नारा विपरित हुने बताउनुभयो । उहाँले अहिले खाली रहेका मन्त्रालयहरुमा मात्रै मन्त्री थप गरेर सरकारलाई चुस्त दुरुस्त पार्नु नै उपयुक्त हुने बताउनुभयो ।

    मन्त्रीपरिषद् पुरै पुनर्गठन गर्ने बारेमा पार्टी भित्र विवाद र विमति धेरै रहेको नेता गुरुङले बताउनुभयो । सरकारले राम्रो काम गर्न नसकेको भन्दै लामो समयदेखि चौतर्फी आलोचना भएपछि नेकपाले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले मन्त्रीपरिषद् पुनर्गठनको गृहकार्य तिव्र पारिरहेका बेला असन्तुष्टिको स्वर सुनिएको हो । प्रमुख सचेतक गुरुङको तर्कलाई पार्टी भित्र र बाहिरका धेरैले सकारात्मक रुपमा लिँदै बहस अझै बढाउनु पर्ने टिप्पणी गरेका छन् ।


    बिहिवार, आश्विन २२ २०७७०८:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij