काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुनुभएको छ । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार (आज) कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
उपसमितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् । कार्यकारी निर्देशकको पदावधि ४ वर्षको रहनेछ ।
कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए । उपसमितिले त्यसमध्ये ६ जनालाई छनोट गरेको थियो । उनीहरुको प्रस्तुतीकरण असोज २ गते थियो भने अन्तर्वार्ता ४ गते लिइएको थियो । अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस भएको हो ।