काठमाडौं । सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ । कोरोनाको जोखिम उच्च रहेको र त्यसमा ज्येष्ठ नागरिक अझ बढी जोखिममा रहेको भन्दै आफूभन्दा ठूलाबाट दसैँमा लिइने आशिष अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरिएको हो ।
मन्त्री ज्ञवालीले महामारीका बेला ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशीर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दसैँ मनाउन आग्रह गर्नुभयो । उहाँले दसैँमा काठमाडौं उपत्यकाबाट धेरै ओहोर–दोहोर नगरिदिन आग्रह गर्नुभयो ।
साथै सरकारले काठमाडौं उपत्यका अझै पनि उच्च जोखिममा रहेकाले यहाँका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको छ । ज्ञवालीले देशका अरू जिल्लामा कोरोनाको प्रकोप नियन्त्रण हुँदै गएको भए पनि काठमाडौं उपत्यकामा नियन्त्रणउन्मुख नभएकाले निकै उच्च सकर्तता आवश्यक रहेको बताउनुभयो ।