काठमाडौं । प्रदेश ५ को स्थायी राजधानीको बिषयमा उत्पन्न विवाद थप पेचिलो बन्दै गएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण प्रदेशसभा बैठकको आजको कार्यसूची प्रभावित भएको छ । प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए ।
आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो । तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि भोलि मध्यान्ह १२ बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गर्नुभएको थियो ।
आवेगले नभई विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उहाँले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गर्नुभयो ।
मन्त्री केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न सम्मको आदेश मर्यादापालकलाई दिएपछि सांसदहरु झन् आक्रोशित भएका थिए ।
तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुग्नुभएका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिनुभएको थियो ।
बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । उहाँ रोष्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले आज प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका थिए ।
यसअघि आजै दिँसो सम्पन्न नेकपा प्रदेश ५ को संसदीय दलको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई वित्तीय राजधानी बनाउने आश्वासन दिनुभएको छ ।
प्रदेशको स्थायी राजधानीका लागि सत्तारुढ नेकपाले दाङको भालुवाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि पोखरेलले बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताउनुभएको थियो ।