काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको उहाँले आरोप लगाउनुभएको छ ।
कांग्रेस र कम्युनिष्ट राष्ट्रिय पार्टी भएकोले भेगअनुसार निर्णय गरेर राजधानी सार्न नहुने उहाँको भनाई छ । राजनीतिक तर्फबाट निकास निकाल्न मुख्यमन्त्रीलाई पटकपटक आग्रह गरे पनि पेलेर जाने र दुई तिहाइ दम्भ देखाएको उहाँले बताउनुभयो ।
बैठक सुरू गरेलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुखले कनौडियालाई बोल्न दिएका थिए । कनौडियाले बोलिसकेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन् । कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ ।