काठमाडौं । प्रदेश ५ को स्थायी राजधानीका लागि सत्तारुढ नेकपाले दाङको भालुवाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई वित्तीय राजधानी बनाउने आश्वासन दिनुभएको छ ।
संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलले दाङको भालुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेकपाकै १४ सांसदले फरक मत राखेका छन् । बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताउनुभयो । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने मुख्यमन्त्री पोखरेललको भनाइ छ ।