काठमाडौँ । साताको पहिलो दिन आइतबार दिनभर उतारचढाव देखिएको सेयरबजार समान्य सुधार भएर बन्द भएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४६ अंकमा बन्द भएको छ ।
सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । लकडाउनका कारण लामो समय बन्द रहेको सेयर बजार गत साताबाट खुलेको थियो । लकडाउनपछि बजार खुलेसँगै पहिलोपटक अर्बमाथिको कारोबार भएको हो ।
आइतबार नेप्सेमा १७२ कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब तीन करोड ३३ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार सुरु भएदेखि नै नेप्सेमा उतारचढाव देखिएको थियो ।
सुरुमा बजार ओरालो लागे पनि केही समयमै बजार उकालो लागेको थियो । ११ बजेबाट खुलेको बजारमा ११ बजेर ११ मिनेट जाँदा परिसूचक नेप्से १२४७ अंकमा झरेको थियो । त्यसपछि बढ्न सुरु भएको बजार परिसूचक नेप्से ११ बजेर ३० मिनेट जाँदा आजको सबैभन्दा उच्च विन्दु १२८१ सम्म पुगेको थियो ।
त्यसपछि पुनः ओरालो लाग्न सुरु भएको बजार परिसूचक नेप्से ११ बजेर ५९ मिनेट जाँदा आजको तल्लो विन्दु १२४१ सम्म झर्यो । त्यसपछि नेप्से पुनः बढ्न सुरु गरेर २ बजेर २ मिनेट जाँदा १२७५ सम्म पुगेको थियो भने अन्तिम समयमा पुनः ओरलो लागेको बजार फेरि बढेर १२६५ मा बन्द भएको हो ।
आइतबार नेपाल पुनर्बिमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । गत सातबाट नेप्सेमा कारोबार सुरु भएको कम्पनीको सेयर सर्वाधिक १५ करोड १२ लाख ४२ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख ५९ हजारको कारोबार भएको छ ।