काठमाडौं । करिब १३ वर्षअघि नेपाली कांग्रेसका नेता अफताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमिस्त्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी छन् ।
सहनीलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंगुल एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए ।
नेता आलम र महताब आलमको निर्देशनमा ०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो । पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी ०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस –४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो । सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए ।
ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो । सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही घटनामा मारिएको भनिएका युवकका बुवा श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो ।