काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज समापन हुँदै छ । प्रज्ञा प्रतिष्ठानको भवनमा गत बुधबारदेखि शुरु भएको बैठक आज समापन हुने भएको हो ।
बैठकमा मंसिरमा तय भएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीलगायतका विषयमा छलफल भइरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राखेका छन् । माओवादी केन्द्रमा प्रचण्ड पछिको नेता को हो भन्ने कुरा उठिरहेको प्रसंगमा सचिव दिनानाथ शर्माले खोजेर किनेर नपाइने भएकाले आफूले निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
सत्ता कसैले पनि हस्तान्तरण या पुस्तान्तरण गर्ने नभइ खोसेर लिने चिज भएको नेता शर्माको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले इतिहासलाई रुपान्तरण गरेर यहाँसम्म ल्याउने नै प्रचण्ड भएकाले उहाँको जस्तै सोच र नेतृत्व लिएर आउने नेता पनि पार्टीमा धेरै भएकाले यसमा अहिले नै बहस गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।
जारी बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५० भन्दा बढी सहभागी छन् ।
केन्द्रीय सदस्यले उठाएका विषयमा अध्यक्ष प्रचण्डले आज जवाफ दिएपछि बैठक सक्ने तयारी रहेको सचिव शर्माले बताउनुभयो ।