काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व अर्थमन्त्री डा युवराज खतिवडालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेपछि नेकपा भित्र फेरी विवाद चर्किन लागेको छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेकोभन्दै असन्तुष्टि व्यक्त भएपछि आगामी दिनदेखि छलफल गरेर सहमतीमा गर्ने निर्णय भएपनि उलंघन भएको भन्दै विवाद चर्किन लागेको हो । नेकपाको हालै सम्पन्न स्थायी समिति बैठकले मन्त्रीपरिषद् पुर्नगठन, प्रदेश सरकारमा फेरबदल, राजनीतिक नियुक्तिहरुलाई एकमुष्ट रुपमा सहमतीमा गर्ने निर्णय गरेको थियो । प्याकेजमै सहमती गरेर गर्नेगरी छलफलहरु भइरहेका बेला एकाएक राजदूत नियुक्तिको सिफारिसले पार्टी भित्र बन्दै गरेको समझदारीमा फेरी धक्का लागेको छ, नेकपा नेता गणेश शाहले भन्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले प्रधानमन्त्रीले फेरी एकलौटी र स्वेच्छाचारीता देखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । राजनीतिक नियुक्तिहरु छलफल गरेर सहमतीमा गर्छु भनेर केही दिन अगाडि प्रतिवद्धता जनाउनु भएका प्रधानमन्त्रीले फेरी छलफल नगरी गर्नु गलत भएको उहाँको भनाइ छ ।
उहाँको स्वेच्छाचारी प्रवृत्तिका कारण सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टीकै बदनाम भएको र पार्टीप्रति नै वितृष्णा बढाएको निश्कर्ष सहित स्थायी कमिटिले छलफलबाट मात्रै गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अहिलेको सिफारिसका बारेमा नेकपाका अन्य शिर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झनाथ खनाललगायतलाई पूर्व जानकारी नै नभएको र उहाँहरुको असन्तुष्टि रहेको सार्वजनिक भएको छ ।