काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिनुभएको हो । शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उहाँले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गर्नुभयो ।
‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ । यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन, ‘ सभापति लामिछानेले भन्नुभयो, ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’
सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उहाँले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताउनुभयो ।
सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो ।
तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।
विगतमा सदन चल्न नदिएर मिटरब्याज पीडितको विपक्षमा उभिएको भनी आफूहरुलाई आरोप लगाएको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितकै पक्षमा रहेको बताउनुभयो ।