काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । यस्तै सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा पनि सम्पर्कविहीन रहेको बताइएको छ ।
उनीहरु गत असार १५ गतेपछि सम्पर्कविहीन बनेका हुन् । उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको बताइएको छ ।
उनीहरुले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा भने खुलेको छैन ।
सारडा परिवारको नेपालमा १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे । ४० को दशकपछि उनीहरु विराटनगर र काठमाडौं छिरेका हुन् । संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् ।
शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् । माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाइ हुन् । राधेश्याम सारडालाई रमपम चाउचाउ उत्पादक कम्पनी एसियन थाइफुड्सको सबै आर्थिक कारोबार हेर्ने जिम्मा थियो । यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् ।