काठमाडौं । राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ ।
शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।
बैठकको सुरुमै बोल्नुहुँदै एमाले सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकीर समेत गर्नु भयो ।
एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नु भएको थियो ।
तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि सो बैठक स्थगित गर्नु भएको थियो ।