काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको रोकथामका लागि सरकारलाई सहयोग गर्न र सचेत गराउन गठन गरेको ‘कोभिड–१९ अनुगमन समिति’ ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ । पार्टीको सहमहामन्त्री समेत रहेका अनुगमन समितिका संयोजक प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले आज बिहान अस्पतालको अनुगमन गरेको हो ।
अस्पताल पुगेर निर्देशक डा. सागरकुमार राजभण्डारीसँग कोभिड–१९ को अहिलेको अवस्था, अस्पतालले भाग्नु परेका समस्यालगायत विषयमा जानकारी लिइएको सहमहामन्त्री महतले जानकारी दिनुभयो । छलफलका क्रममा निर्देशक डा. राजभण्डारीले अस्पतालमा अहिलेसम्म सरकारका मन्त्री र सचिवहरू कोही पनि नपुगेका अनुगमन समितिलाई जानकारी दिनुभयो ।
कोरोना परीक्षण शुक्रराजमा मात्रै केन्द्रित भएका कारण मन्त्री/सचिवहरू कोही प्रवेश नगरेको, अस्पताल एरियामै आउन डराउने गरेको अस्पतालका निर्देशक राजभण्डारीलाई उदृत गर्दै महतले बताउनुभयो । उहाँले अनुगमनका क्रममा कोरोना भाइरसको परीक्षणका लागि अस्पतालमा भीड लाग्ने गरेका कारण सामाजिक दूरी कायम नहुँदा संक्रमणको जोखिम उच्च रहेको पाइएको बताउनुभयो ।
अनुगमन समितिले सरुवा रोग अस्पतालमा मात्रै जाँच केन्द्रित भएको भन्दै सरकारसँग अन्य अस्पतालबाट पनि कोरोना परीक्षण गर्नुपर्ने सुझाव सरकारलाई दिन अस्पतालका निर्देशक डा. राजभण्डारीसँग आग्रह गरेको छ ।