काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिको घुम्ति बैठक तथा दोस्रो पुर्ण बैठक कास्कीको मादी गाउँपालिकास्थित ताङतिङबाट शुभारम्भ भएको छ ।
ताङतिङ पर्यटकीय गन्तव्य (होमस्टे) को प्रचारप्रसार र सम्भावनालाई मध्येनजर गरी प्रतिष्ठानको पहिलो रोजाई सोही ठाउँ परेको हो । ताङतिङमा केन्द्रीय कार्यसमिति बैठक र प्रशिक्षण सम्पन्न भएको छ ।

प्रतिष्ठानका पदाधिकारीसहित गएको ईन्द्रेणी समूहलाई ताङतिङका स्थानीयबासीले नौमति बाजागाजासहित भव्य स्वागत गरेका थिए । कलाकारहरु र ईन्द्रेणी समूहको जमघटले त्यहाँको प्रचारमा थप टेवा पुग्ने भन्दै उनीहरु हर्षित पनि भएका छन् । ताङतिङमा भएको जेठ २६ गतेको बैठकमा नेपालको कला, संस्कृतिको उत्थानबारे बहस पैरवी र २७ गते ‘सशक्त प्रतिष्ठान, आवश्यकता र चुनौति’ विषयक अन्तरक्रिया गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकत्व प्रशिक्षक दुर्गा रायमाझीले गर्नुभएको थियो । लोकसंस्कृतिको जर्गेना र प्रचारप्रसार गर्दै आइरहेको कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेललगायतको समूहले सांगितिक कार्यक्रमका साथै छाँयाकंन समेत गरिएको थियो ।

घुम्ति बैठकमा केन्द्रीय कार्यसमितिका अलवा संरक्षक र सल्लाहकारहरुको समेत सहभागिता रहेको थियो । यो बैठकले प्रतिष्ठानको विधानमा भएअनुसार लोकसंगीतको क्षेत्रमा विशेष योगदान पुर्याएका नौजना अग्रजहरुलाई सम्मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । जसमा कुमार बस्नेत, बमबहादुर कार्की, हरिदेवी कोइराला, नन्दकृष्ण जोशी, प्रेमराजा महत, कृष्ण गन्र्धव, प्रेमदेव गिरी, शम्भु राई र रामप्रसाद खनाल रहनुभएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष अमरविरही गुरुङ, पूर्वअध्यक्ष प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, साथै सल्लाहकारहरु नारायण रायमाझी, खिम हमाल, पूर्ण गुरुङ (ह्याल्मो), रमेशबाबु श्रेष्ठ र कृष्ण कँडेलको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले आगामी दिनमा सातै प्रदेशका विभिन्न स्थानमा गएर केन्द्रीय समितिको पहिलो घुम्ति बैठक र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । घुम्ति कार्यक्रमको मुख्य उद्देश्य लोक संस्कृतिको जगेर्ना र पर्यापर्यटनको प्रचारप्रसार रहेको प्रतिष्ठानले जनाएको छ ।

