९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको बताउनु भएको छ।
नेपालमा १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम आइरहेको भन्दै यसवर्षको कार्यक्रममा धेरै आलोचनात्मक भइरहनु आवश्यक नभएको उहाँको भनाई छ ।
‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला’ आज प्रतिनिधिसभा बैठकमा उहाँले भन्नुभयो, ‘ १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो ।’
संसदको बजेट अधिवेशन सुरु भएपछि अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, त्यसमाथि संसदमा छलफल हुने, त्यसपछि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संसदमा छलफल गर्ने प्रचलन छ ।
नीति तथा कार्यक्रममाथिको छलफलपछि १५ जेठमा अर्थमन्त्रीले बजेट पेश गर्नुहुने भएको छ ।