माधव तिमिल्सैना
काठमाडौं । भ्रष्टाचारका विभिन्न प्रारुप हुन्छन् । कसैले खुलेआम गर्छन्, कतिले नीतिगत रुपमा गरिरहेका हुन्छन् । बिना मेहनत र व्यवसाय बिना अकुत सम्पत्ति आर्जन गर्नु भ्रष्टाचार नै हो । जुन पछिल्लो समय नेपाली समाजमा व्याप्त रहेको छ । राजनीतिलाई पेशा मान्नेको जमात होस्, ठेक्कापट्टालाई कमाउ धन्दा बनाउनेको जमात होस्, केही सामाग्री किन्दा कमिसन लिनेको जमात होस् विभिन्न स्वरुपमा यिनीहरुले भ्रष्टाचारलाई प्रसय दिइरहेका हुन्छन् ।
मुलुकभित्रै हुने भ्रष्टाचारका प्रकरणको त कुरै नगरौँ अहिले अन्तर्राष्ट्रियस्तरमै छबि गिराउने गरी भएको भ्रष्टाचारको नयाँ रुप हो, नक्कली भुटानी शरणार्थी प्रकरण । आफ्नै देशका नागरिकलाई नक्कली शरणार्थी खडा गरेर अमेरिकालगायतका देशमा पठाउन राज्य संयन्त्रको दुरुपयोग गर्ने गिरोहको अहिले पर्दाफास भएको छ । जसमा संलग्नलाई कडा कारबाही हुनुपर्ने आवाज उठेको छ । नेपाली नेटवर्कसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले भुटानी शरणार्थी बनाउने र हुन खोज्ने दुवैलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताउनुभयो ।
नक्कली शरणार्थी खडा गर्न लागेको र सघाएको आरोपमा १३ जना प्रहरी हिरासतमा छन् । केहीका नाम समेत जोडिएका छन् । जसमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र मञ्जु खाँणको नाम आइरहेको छ । त्यसलाई सत्यतथ्य के हो बुझ्नका लागि मार्ग प्रशस्त गर्नुको साँटो उल्टै बचाउ गर्ने प्रपञ्च रचिएको पाइएको छ । आजै पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले आरजुका विषयमा गलत तथ्य बाहिरिएको र मिडिया ट्राइल गरिएको आरोप लगाउनुभएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भइरहेको हो की भन्ने आशंका व्यक्त गर्नुभएको हो । गृहमन्त्रालयले अनुसन्धानको पाटोका विषयमा संसदमा जानकारी नगराएको पनि उहाँको भनाइ छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणमा सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रहरीलाई कुनैपनि दबाब नदिइ स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि वातावरण तय भएको उहाँको भनाइ छ ।
पछिल्लो समय देखिएको भ्रष्टाचारले मुलुकको राष्ट्रियतामाथि नै खलल पु¥याएको छ । यो प्रकरणमा मुछिएका जो कोहीलाई पछि छोड्न नमिल्ने नागरिकको आवाज रहेको छ । यो काण्डलाई सामसुम पार्न खोज्ने जो कोही दल वा व्यक्ति कालान्तरमा आफू पनि सामसुम हुने पक्का रहेको छ ।