काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको बताउनुभएको छ ।
सोमबार ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय व्यवस्थामा असल मानिसपनि सिंङ पुच्छर उमारेर निस्कने गरेको बताउनुभयो ।
‘जनयुद्ध र १९ दिने जनआन्दोलनमा जीवनको दाउ थापेर लड्नेहरु के हो यो ? किन उनीहरु नेपाली जनताअगाडि टिक्न सक्दैनन् ? यो भनेको दलाल पुँजीवादी सत्ताको समस्या हो’, महासचिव विप्लवले भुटानी शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता नै मुछिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
‘हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरु आज करौडौको खेलमा भ्रष्टाचारमा जाकिएका छन् । उनीहरु आज जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको छ’, विप्लवको भनाइ छ ।
उहाँले अहिले सामन्तवाद परास्त भएपनि साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।