काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ। पक्राउ पुर्जी जारी हुनुपूर्व नै यो घटनाका हाईप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्।
शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन्। शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरूलाई भेटेर पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँणको नाम नलिन भन्दै आग्रह गरेका थिए।
रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाँणको नाम नलिन भनेको प्रहरी स्रोतले जनाएको छ। हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने, ‘केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरूका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाँणले लिएको रकम फिर्ता गर्ने कागज समेत गरेको थाहा भएको छ ।’
तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्, ‘मन्त्री खाँण र सचिव पाण्डेका लागी एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’
१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ ।