काठमाडौं । सेवाग्राहीको भिडभाड देखिरहने टेकुस्थित काठमाडौं प्रहरी परिसरको रुम नम्बर ३ मा बिहीबार दिनभर बाहिरबाट चुकुल लगाइएको थियो । बाहिर सादा पोसाकका प्रहरी तैनाथ थिए ।
सँधै त्यहाँभित्र देखिने डीएसपी भने यताउता गरिरहेका थिए । बाहिरबाट बन्द गरिएको त्यस कोठालाई त्यत्तिकै प्रहरीले सुरक्षा दिइरहेको थिएन । त्यहाँ थिए हाईप्रोफाइल एक थुनुवा ।
विगत दुई दिनदेखि प्रहरीले दुईजना डीएसपी बस्ने उक्त कार्यकक्षलाई त्यस कोठाभित्र राखिरहेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई करिब ५० मिटर दूरीमा रहेको १५० जनासम्म थुनुवा राख्न सकिने हिरासत कक्षमा नराखेर डीएसपीको कार्यकक्षमा राखिएको हो ।
‘उहाँले अन्त कतै बस्न र जान मान्नु भएन’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । बुधबार साँझ अदालतबाट म्याद थपेर ल्याएपछि प्रहरीले उनलाई दरबारमार्गस्थित वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाणले आफू टेकुबाहेक अन्त नजाने बताएपछि डीएसपीकै कार्यकक्षमा एउटा खाट राखेर उनलाई बस्ने व्यवस्था मिलाएको छ ।
बुधबार प्रहरीकै मेसको खाना खाएका खाणले बिहीबार बिहान भने रोटी खाने इच्छा व्यक्त गरेका थिए । तर आफन्तले नै खाना ल्याई दिएको बुझिएको छ । बुधबार उनका मेयर भाई कपडा लिएर आएका थिए ।
‘उहाँ शान्त रुपमा बसिरहनु भएको छ । उहाँमा तनाव देखिँदैन’, परिसरका एक अधिकारी भन्छन् । परिसरका तल्लो दर्जाका अधिकारीहरुले उनको रेखदेख गरिरहेका छन् ।
खाणले आफूलाई ‘प्रहरीकै मान्छे’ भनेर बताउने गरेका छन् ।
‘आफुले भनेको कुरा प्रहरीले इन्कार गर्दा जित्न नसकेपछि नमस्कार गरेर चुप्प लाग्नुहुन्छ ’, परिसरका एक अधिकारी भन्छन् ।