Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले भन्यो : 'हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन'

सरकारले भन्यो : 'हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन'

  • बुधवार, आश्विन ७ २०७७

  • 1.0K
    SHARES

  • सरकारले भन्यो : 'हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन'


    काठमाडौँ – सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ। पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गर्दै चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउनुभएको हो ।

    परराष्ट्रमन्त्री ज्ञवालीले यस्तै खबर २०७३ मा पनि आएको बताउनुभयो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत अध्ययन गरेका उहाँले बताउनुभयो ।

    मन्त्री ज्ञवालीका अनुसार त्यहाँ बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको बताउनुभयो । अहिले त्यही ठाउँमा नयाँ भवनहरु निर्माण भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

    हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले ९ वटा भवन बनाएको विषयमा ढिलो गरी सूचना दिएको भन्दै स्थानीय प्रशासनसँग प्रधानमन्त्रीको सचिवालय रुष्ट बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सीमाको रक्षा गर्ने दायीत्व पाएको स्थानीय प्रशासनले ९ वटासम्म भवन निमार्ण भइसक्दा बल्ल आएर सूचना दिएकोमा आक्रोश पोख्नुभयो ।

    नेपाली रेडियो नेटवकसँगको कुराकानीका क्रममा उहाँले हुम्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु अहिलेसम्म के हेरेर बसेका थिए भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै सरकारलाई सूचना दिनुको साटो ढिलो भैसक्दा पनि स्थानीय प्रशासन मिडियाबाजीमै मात्र लागिरहेको आरोप लगाउनुभयो ।

    डा. भट्टराईले चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको सूचना पाएलगत्तै सरकारले गृहमन्त्रालयमार्फत हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीसहित अन्य सुरक्षा अधिकारीहरुलाई स्थलगत निरीक्षणमा पठाएको जानकारी दिनुभयो । उहाँले आफ्नो मुलुकको एक इन्च भूमि पनि नछाड्ने सरकारको दृढता रहेकोले चीनले अतिक्रमण गरेको भए उक्त भूमि फिर्ता लिन सरकार लाग्ने बताउनुभयो । उहाँले जिल्लाका सुरक्षा अधिकारीले दिएको स्थलगत प्रतिवेदनका आधारमा सरकारले थप कारबाही अघि बढाउने जानकारी दिनुभयो ।

    हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चीनले २०६६ सालमै एउटा भवन निर्माण गरेको स्थानीय बासिन्दाले बताएका छन् । त्यसपछि अहिले आएर त्यहाँ ९ वटा भवन निर्माण भएको पाइएको हो । घुम्ती सेवाका क्रममा आफूहरुको टोली नाम्खा पुगेपछि बल्ल चीनले थप भवनहरु बनाएको कुरा थाहा भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो । उहाँले सीमाना रक्षा गर्ने दायीत्व आफूहरुको भए पनि भौगौलिक विकटताले समयमै थाहा पाउन नसकेको जवाफ दिनुभयो ।

    यसैबीच नेपाली भूमिमा चिनियाँ अतिक्रमण भएको भन्दै विरोधमा काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले अतिक्रमित भूमि फिर्ता गर चिनियाँ साम्राज्यवाद मुर्दावाद भन्दै नाराबाजी गरेका थिए ।


    बुधवार, आश्विन ७ २०७७०८:००:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij