काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।
आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गर्नुभएको हो ।
प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गर्नुभएको थियो। तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई स्वीकार गर्नुभएको छैन ।
उहाँले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनसक्ने बताइएको छ । भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डा अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाउनुभएको थियो ।
‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ ? ’ रविको प्रश्न थियो ।
प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार रहेको घुमाउरो संकेत गर्नुभएको स्रोतले बतायो ।