काठमाडौँ । यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यति एयरलाइन्स अब अन्तर्राष्ट्रिय क्षेत्रीय उडानलाई प्राथमिकता राखेर अघि बढेको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टिपी भुसालसँग कुरा गर्दै रिमालले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानमा जान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिको लागि निवेदन दिइसकको बताउनु भयो ।
‘दुईदशक लामो आन्तरिक उडानपछि भारतका केही क्षेत्रीय बजारमा जानसक्ने गरी यतिले अन्तर्राष्ट्रिय अनुमतिको लागि मन्त्रालयमा अनुमति माग गरेको छ । अबको केही समयमा नै अनुमति लिएर अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थिति जनाउने योजना छ,’ उहाँले भन्नुभयो ।
अनुमतिपछि कम्पनीले भारतीय बजारमा उडान गर्ने योजना बनाएको रिमालले बताउनुभयो ।
व्यवसायभन्दा सेवालाई प्राथमिकता दिएको यति एयरलाइन्सले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
यसैबीच, एयरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि देशका विभिन्न भागका लागि प्याकेज घोषणा गरेको छ ।
पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सङ्गसङ्गै’ भन्ने नारालाई अगाडि सारेको यति एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको सिइओ रिमालले जानकारी दिनुभयो ।
(यति एयरलाइन्सका (सिइओ) रिमालसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।)