काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनु भएको छ ।
मंगलबार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताउनु भएको हो ।
उहाँले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताउनुभयो ।
प्रचण्डले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूणर् शक्ति लगाएर काम गरिरहेको पनि बताउनु भएको छ। उहाँले सरकारले राजश्व सङ्कलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चित उत्साहजनक हुँदै गएको बताउनुभयो। झन्डै ११ महिना पुग्ने विदेशी सञ्चित अहिले देशसँग रहेको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूणर् रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।