काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको हो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । निर्वाचन आयोगले हिजो उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी हुनुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसक्नुभएको छ ।