काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभाको सदस्य भएका कुनै पनि व्यक्तिलाई मन्त्री बन्न बाधा नभएको दावी गर्नु भएको छ ।
कतिपय कानुनविद् तथा राजनीतिज्ञहरुले प्रतिनिधि सभामा पराजित भएका व्यक्तिहरु त्यो कार्यकालभरी मन्त्री बन्न नमिल्ने दावी गरिरहेका बेला बरिष्ठ नेता खनाल त्यसको विपक्षमा उभिनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “सांसद बनेको कुनै पनि व्यक्तिलाई मन्त्री बनाउन केहीले पनि रोक्दैन । ”
पूर्व प्रधानमन्त्री खनाल गत निर्वाचनमा पराजित भएका पार्टीका उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउन सकिने पक्षमा उभिनु भएको हो ।
उहाँले भन्नुभयो, “हारेको मान्छे सांसद नभएको बेला मन्त्री बन्न मिल्दैन, तर सांसद बनेपछि मन्त्री बन्न मिल्छ, बामदेवजी पनि मिल्छ, नारायणकाजीजी पनि मिल्छ ।”
निर्वाचन प्राविधिक कुरा भएको र कहिले हारिने कहिले जितिने भन्दै उहाँले त्यसैलाई मात्रै सवै कुरा ठान्न नमिल्ने तर्क गर्नुभयो ।
मन्त्रीमण्डल ठूलो मात्रामा परिवर्तन हुने बताउदै उहाँले दशै अगाडि नै धेरै मन्त्रीहरु फेरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग केही महिना अगाडि आफुहरुको अत्यन्त ठूलो असन्तुष्टि रहेपनि अहिले भने न्युनिकरण हुदै गएको स्पष्ट पार्नुभयो ।
“त्यतिबेला धेरै कुरा बाहिर पोखिएको थियो, अहिले भित्र मात्रै पोखिएको छ, विस्तारै व्यवस्थापन हुने प्रयास भइरहेको छ,” नेता खनालले भन्नुभयो ।