काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचनमा भोट माग्न नेम्वाङसहित नेकपा एमालेका नेताहरु बिहीबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका थिए ।
नेम्वाङले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गर्नुभएको छ । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी हुनुहुन्छ ।
भेटमा नेकपा एसका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा समेत सहभागी हुनुभएको छ ।
नेम्वाङले आजै रास्वपा र राप्रपाका नेताहरुलाई समेत भेटेर राष्ट्रपति निर्वाचनका लागि छलफल गर्ने कार्यक्रम छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा नेम्वाङ र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा छ ।