काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताउनुभएको छ ।
नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताउनुभएको हो । आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भन्नुभयो, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ। तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’
उहाँले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उहाँले बताउनुभयो ।
उहाँले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गर्नुभयो ।