काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सांसद निलम्बित पद फुकुवा भएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र आजको प्रतिनिधिसभा बैठकमा पढेर सुनाउनुभएको थियो। योसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएपछि रिहाइ हुनुभएको थियो। सांसद पद फुकुवा नभएपछि उहाँको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन।
संसद्मा जानकारी भएसँगै संसद् सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समावेश हुनेछ। थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल पर्नुभएको थियो । उहाँ जेल परेपछि सांसद पद निलम्बित भएको थियो।